Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Friday 10 December 2021

सेयर किन्नुअघि कसरी गर्ने रिसर्च ? यी हुन् महत्वपूर्ण ५ चरणहरु

काठमाडौं : व्यक्तिगत लगानीकर्ताहरुका लागि सही सेयर छनोट गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको छ । उचित सेयर छान्नका लागि कहाँबाट अनुसन्धान सुरु गर्ने भन्नेमै अन्योल हुन सक्छ । यद्दपि, आफ्नो पोर्टफोलियो आफैं व्यवस्थापन गर्न चाहनेहरुले भने व्यावसायिक पोर्टफोलियो म्यानेजरहरुले जस्तै अनुसन्धान र विश्लेषण विधिको प्रयोग गर्नुपर्ने हुन्छ । सेयर खरिदका लागि अनुसन्धान कसरी सुरु गर्ने थाहा छैन भने यहाँ प्रस्तुत गरिएका चरणहरु सहयोगी हुन सक्छन् ।

 
१) सेयर विश्लेषणका प्रकारहरु बुझ्ने 
 सही सेयर छनोटका लागि अनुसन्धानको पहिलो चरण सेयर विश्लेषणका विभिन्न प्रकारहरुबाट सुरु हुन्छ । सेयर विश्लेषण मुख्य गरी ३ किसिमका हुन्छन् :
 –आधारभूत विश्लेषण : यसमा कम्पनीको आम्दानी, नगद प्रवाह, नाफा, बजार हिस्सा, प्रतिस्पर्धात्मक लाभ लगायत आधारभूत पक्षहरुको अध्ययन र विशलेषण गरिन्छ ।
 
–प्राविधिक विश्लेषण : यसमा भने सेयरको भाउ र कारोबारको मात्रासँग सम्बन्धित ऐतिहासिक तथ्यांकलाई आधार बनाएर भविष्यमा मूल्यको दिशा र गति अनुमान लगाउने काम गरिन्छ ।
 
–संख्यात्मक वा मात्रात्मक विश्लेषण : यसमा गणितीय मेट्रिक्सहरुको प्रयोग गरी सेयरको विश्लेषण गरिन्छ । प्राइस मुमेन्टम यसको एक उदाहरण हो ।
 
२) आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता र बजेट निर्धारण गर्ने 
 सेयर छनोटका लागि अनुसन्धान सुरु गर्नु अघि लगानीकर्ताले आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता र बजेट निर्धारण गर्नुपर्ने हुन्छ । बजारमा धेरै खाले सेयरहरु हुन्छन् र सैद्धान्तिक रुपमा तपाईंले यतिमात्र लगानी गर्न सक्नुहुन्छ भनेर कुनै सीमा तोकिएको हुँदैन । तसर्थ, कस्तो किसिमको सेयरमा र कतिसम्म लगानी गर्ने भन्ने विषय लगानीकर्ता आफैंले निर्धारण गर्नुपर्छ ।
 
उदाहरणका लागि, भ्याल्यू स्टकमा जोखिम कम हुनुका साथै वार्षिकरुपमा प्रतिफल पाइने हुन्छ । तर, ग्रोथ स्टकमा जस्तो पुँजीगत लाभ प्राप्त नहुन सक्छ । ग्रोथ स्टकमा भने जोखिम उच्च हुनुका साथै पुँजीगत लाभ पनि बढी हुने सम्भावना रहन्छ । तसर्थ, कतिसम्म जोखिम लिने र कस्तो किसिमको प्रतिफलको आशा गर्ने विषय निर्धारण गर्न आवश्यक हुन्छ ।
 
३) वित्तीय अनुपातहरुलाई ध्यान दिने 
 कुनै पनि कम्पनी लगानीका लागि सही छ कि कैन भन्ने थाहा पाउनका लागि विभिन्न वित्तीय अनुपातहरु छन् । कुनै कुनै अनुपातहरु अन्य भन्दा केही बढी नै महत्वपूर्ण हुने गरेका छन् । सेयरको अनुसन्धान गर्दा अलि बढी नै ध्यान दिनुपर्ने वित्तीय अनुपातहरुमा पीइ रेसियो, प्राइस टु बुक रेसियो, नेट प्रोफिट मार्जिन, रिटर्न अन इक्विटी, रिटर्न अन एसेट्स र फ्रि क्यास फ्लो पर्दछन् । यद्दपि, कुन अनुपातलाई बढी ध्यान दिने भन्ने विषय आफूले रोज्ने लगानी तरिकामा पनि भर पर्दछ ।

उदाहरणका लागि, लगानीका दुई प्रचलित तरिकामा भ्याल्यू र ग्रोथ इन्भेष्टिङलाई लिन सकिन्छ । भ्याल्यू इन्भेष्टमेन्टमा सामान्यतयः प्राइस टु बुक रेसियो, प्राइस टु अर्निङ (पीई) रेसियो लगायतलाई ध्यान दिइन्छ । यी अनुपातहरु जति कम भयो त्यति नै राम्रो मानिन्छ । ग्रोथ इन्भेष्टरले भने विशेषगरी कम्पनीको आम्दानी, नाफा वा कमाईलाई ध्यान दिने गर्छन् ।
 
४) अनुसन्धान सुरु गर्न आवश्यक डाटा संकलन गर्ने
 कस्तो कम्पनीको विश्लेषण गर्ने थाहा पाइसकेपछि अनुसन्धानलाई थप गहिराइमा लैजानुपर्ने हुन्छ । अनुसन्धानका लागि आवश्यक तथ्यांक संकलन गर्न विभिन्न कागजात तथा प्रतिवेदनहरुका साथै अन्य उपकरणहरुको मद्दत लिन सकिन्छ । कम्पनीहरुको नाफा–नोक्सान हिसाब, वार्षिक वित्तीय प्रतिवेदन, सार्वजनिक सूचना, अनलाइन रिसर्च प्लेटफर्म, इन्डस्ट्री ट्रेन्डलगायतका पक्षबाट आवश्यक डाटा उपलब्ध हुन सक्छन् ।

डाटाका लागि अर्को महत्वपूर्ण माध्यम भनेको ‘स्टक स्क्रिनर’ पनि हो । विभिन्न वेबसाइटहरुले स्टक स्क्रिनर सेवा दिएका हुन्छन् । यसबाट प्रोफिट मार्जिन, मूल्य आम्दानी अनुपात लगायत मेट्रिक्सहरुका आधारमा कम्पनी छान्न सकिन्छ । नेपाल पैसा लगायतका सेयर बजारसँग सम्बन्धित अनलाइन सञ्चार माध्यमहरुले  आफ्नो वेबसाइटमै वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु पनि उपलब्ध गराएका हुन्छन् । 
 
५) आफ्नो पोर्टफोलियोमा फिट हुने स्टकहरु छान्ने 
 लगानीकर्ताहरुले अनुसन्धानबाट आफ्नो लगानी लक्ष्यसँग मिल्ने स्टकहरुको छनोट गर्नु उचित हुन्छ । उदाहरणका लागि, आफूलाई भ्याल्यू इन्भेष्टमेन्टमा रुचि छ या ग्रोथ इन्भेष्टमेन्टमा ? जोखिम वहन गर्न सक्ने क्षमता र लगानीका लागि बजेट कति छ ? यी प्रश्नहरुलाई ध्यानमा राख्नुपर्छ ।

यी प्रश्नहरुको उत्तर पहिचान गरेपछि मात्र लगानी रणनीति बनाउन सकिन्छ । आफूले प्रयोग गर्ने वित्तीय अनुपातले पनि भ्याल्यू वा ग्रोथ इनभेष्टमेन्ट कतातिर ढल्किएको छ भन्ने संकेत गर्छ । जसलाई तेस्रो बुँदामै चर्चा गरिसकिएको छ । त्यसपछि, कम्पनीको आधारभूत पक्षहरुलाई विश्लेषण गरी सही सेयर छनोट गर्न सकिन्छ ।

Source: www.nepalipaisa.com

No comments:

Post a Comment